जापोरिजझिया आणविक प्लान्टको छतमा कुनै विस्फोटक पदार्थ फेला परेनः आईएईए



भियना । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आईएईए)ले युक्रेनको रूस नियन्त्रित जापोरिजिया विद्युत् गृहको छत र टर्बाइन हलमा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको शुक्रबार जनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण भएको केही समयपछि नै युरोपको सबैभन्दा ठूलो आणविक सुविधा रूसी सेनाको कब्जामा परेको थियो र कीएभ र मस्कोले एकअर्कालाई उक्त प्लान्टमा घटनाको योजना बनाएको आरोप लगाउँदै आएका थिए ।

युक्रेनी सेनाले तेस्रो र चौथो रिएक्टरको बाहिरी छतमा विस्फोटक पदार्थजस्तै बाह्य वस्तु राखिएको दाबी गरेको थियो ।

आईएईएका विज्ञहरूले युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रको शाखा ३ र ४, रिएक्टर भवन तथा टर्बाइन हलको छतमा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको बताएका हुन् ।

जुलाई २३ मा, आईएईएका विशेषज्ञहरूले विद्युत् गृहस्थलको आन्तरिक र बाह्य परिधि अवरोधहरूको बीचमा ‘बफर जोन’मा मानव लक्षित अवरोधहरू भेटिएको देखेको बताएका छन् ।

प्लान्टमा निर्वाध पहुँचका लागि पटक–पटक आह्वान गरेपछि उक्त टोलीले दुई रिएक्टर युनिटको छतमा निर्बाध पहुँच प्राप्त गरेको थियो र टर्बाइन हलका छतहरू पनि सहजै र स्पष्ट अनुगमन गरेको हो ।

आईएईएले प्लान्टमा रहेका अन्य चार शाखाको छतमा जानका लागि आफ्नो अनुरोधलाई पछ्याउनेछ ।

आईएईएका प्रमुख राफेल मारियानो ग्रोसीले भने,“देशमा सैन्य द्वन्द्वको समयमा आणविक सुरक्षा र सुरक्षा सहयोग गर्ने आईएईएको प्रयासलाई जारी राख्न जमीनमा तथ्यहरूको समयमै, स्वतन्त्र र वस्तुनिष्ठ रिपोर्टिङ महत्वपूर्ण छ ।”

युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट रूसी नियन्त्रणमा आएपछि उक्त प्लान्टमा गोली प्रहार गरिएको थियो र ग्रिडबाट धेरै पटक काटिएको थियो, जसले गर्दा ठूलो आणविक दुर्घटनाको डर बढेको थियो ।

युद्धअघि युक्रेनको बिजुलीको पाँच भागको एक भाग उत्पादन गर्ने छ वटा रिएक्टर युनिटहरू महिनौंदेखि बन्द छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ०६ बजे