टोपबहादुरको सांसद निलम्वन हुँदै, १० पटकसम्म अनुपस्थित सांसदको नाम सार्वजनिक गरिने



काठमाडौं– प्रतिनिधिसभा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा, सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ । विषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइनेछ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाइनेछ । त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

त्यसैगरि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश कार्यसूची छ ।

त्यस्तै, शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ७ : ०७ बजे