हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा



हङकङ । हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रबिधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।

विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।”

अधिकारीका अनुसार हङकङमा बिहीबार देखि भारी वर्षा सुरु भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।

शुक्रबार अपरान्ह अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ, यद्यपि अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

“मलाई याद छैन कि हाम्रो जिल्लामा बाढी यति खराब भएको थियो,” आफ्ना वृद्ध आमाबाबुसँग वोङ ताई सिन जिल्लामा बस्दै आएका ५२ वर्षीय ज्याकीले भने ।

अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।

“नदीको नजिक बस्ने बासिन्दाहरूले मौसमको अवस्थाप्रति सतर्क रहनुपर्दछ र यदि उनीहरूको घरहरू बाढीमा डुबेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा सार्न विचार गर्नुपर्छ,” हङकङको मौसम विज्ञान कार्यालयले भनेको छ । कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ ।

बढी र डुवानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : २७ बजे