आतङ्वादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना



न्युयोर्क । बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतङ्वादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा आज न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ । सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ ।

नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्वादी आक्रमणमा हो । यो आतङ्वादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिएभने छ हजारभन्दा बढी घाइते भएका थिए । दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो ।

आतङ्वादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रीवाहक चारवटा अमेरिकी विमान अपहरण गरेर न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका एक सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेभने राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए । चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्स्ल्भिेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो । चारवटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतङ्कवादी सवार थिए । उक्त आक्रमणमा १९ जना आतङ्कवादीले पनि ज्यान गुमाएका थिए ।

जुम्ल्याहा भवन पनि भनिने वल्र्ड ट्रेड सेन्टरमा मारिएका केहीको पहिचान स्थापित गर्न २२ वर्ष नै लागेको छ । गत साता मात्र दुई जनाको डिएनए परीक्षणबाट ज्यान गएको पुष्टि भएको छ । एघार नोभेम्बरका दिन भएको हताहतिबाहेक विमान विष्फोटसँगै भवन भत्किँदा उत्पन्न विषाक्त हावा एवं भग्नावशेषका कारण हजारौ बिरामी भए भने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । बितेका २२ वर्षमा आफूले नाइन इलेभेनमा काम गरेका आफ्ना तीन सय ४१ जना साथी श्वासप्रश्वाससम्बन्धी रोगबाट गुमाएको वारुणयन्त्र कर्मचारी सङ्घका अध्यक्षले बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : २४ बजे