संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनप्रति राष्ट्रपति पौडेल, सभापति देउवा, अध्यक्ष नेपालद्वारा दुःख व्यक्त



काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।–

सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १० : ०९ बजे