अमेरिकाद्वारा पाँच बन्दी छुटाउन छ अर्ब डलर निकासा



दोहा । इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ ।

अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ ।

तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकी अनुसार अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिने छ । कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट छ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ । पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन् ।

तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन् । इरानमा बन्दी बनाइएका अमेरिकीहरू मध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोपमा लगाइएको थियो । हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी हुन् । अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो ।

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान
इरान र अमेरिकाबीच भएको बन्दी आदानप्रदान सम्झौता अन्तर्गत इरानमा बन्दी बनाइएका पाँच जना अमेरिकी नागरिक उनीहरूका दुई जना आफन्तसहित तेहरानबाट दोहाका निम्ति प्रस्थान गरेका छन् । कतारी विमानबाट उनीहरू दोहा आउन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा पक्राउ परेका पाँच जना इरानी नागरिकलाई थुनामुक्त गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । अब उनीहरू पनि हिरासतमुक्त भएका छन् ।

तेहरान र वासिङ्टनबीच भएको बन्दी आदानप्रदानको सम्झौताको पूर्वशर्त नै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने तेहारानको माग थियो । अमेरिकाको अनुरोधमा दक्षिण कोरियाले रोक्का गरेको इरानी छ अर्ब अमेरिकी डलर निकासा दिएपछि उनीहरू हिरासतमुक्त भएका हुन् । कतारको मध्यस्थतामा रकम निकासा भएको हो ।

इरानले अब विश्वका अन्य देशमा रोक्का गरिएको आफ्नो वैधानिक सम्पत्ति फुकुवा हुने विश्वास व्यक्त गरेको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले मुक्त गरेका दुई जना इरानी कतारको राजधानी दोहा आइसकेका छन्भने बाँकी तीन जना अमेरिकामा नै बस्ने वा तेस्रो देशमा जानेछन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ०१ बजे