काठमाडौँ । अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँछन् । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत छन् ।
केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गर्नुभएका उनले भने, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ । कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ ।”
सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ । उनले भने“ आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमा समेत छन् ।
“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो । जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उनले भने । उनका अनुसार केही स्थानमा उहाँहरूले काम सुरु पनि गरिसकेका छन् । “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उनले भने ।
नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताए । त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उनको बुझाइ छ ।
“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भने, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।” त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उनले स्वभाविकरूपमा लिएका छन् ।
विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै सङ्कल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने । तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो । व्यवसायीबाट सांसद बनेका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ–गाउँ पुग्नुभएको छ ।
उनले रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध थिए । विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । उनलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन ।
“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुँदैन भन्ने सोच थियो । जो–जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, रासससँगको कुराकानीका क्रममा उनले भने, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो ।”
प्रतिक्रिया