ओस्लो । इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् ।
नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।
यो पुरस्कार छनोटका लागि नर्वेली संसदले एउटा स्वतन्त्र प्यानेल नियुक्त गर्दछ ।
यो वर्ष उक्त कमिटीले व्यक्तितर्फ दुई सय ५९ र संस्थागततर्फ ९२ गरी कूल तीन सय ५१ को मनोनयन प्राप्त गरेको थियो । मनोनयन गर्न सक्नेहरूमा पूर्व नोबेल शान्ति पुरस्कार विजेता, कमिटीक सदस्यहरू, राष्ट्र प्रमुखहरू, सांसदहरू र राजनीति शास्त्र, इतिहास तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक रहेका छन् ।
नोबेल शान्ति पुरस्कार यो वर्ष घोषणा गरिने पाँचौँ नोबेल पुरस्कार हो । बिहीबार नोबेल कमिटीले नर्वेली लेखक जोन फोसालाई साहित्यतर्फको पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो । बुधबार रसायनशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकहरू मुङ्गी बावेन्डी, लुइ ब्रस र अलेक्सेई इकिमोभलाई प्रदान गरिने घोषणा भएको थियो ।
त्यसैगरी मङ्गलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली मूलका स्विडिश वैज्ञानिक एन लहुइलियर, फ्रान्सेली वैज्ञाकि पिएरे अगोस्टिनी र हङ्गेरी मूल्का फेरेन्क क्रुस्जलाई दिने घोषणा भएको थियो ।
सोमबार चिकित्सातर्फको पुरस्कार हङ्गेरी मूलका अमेरिकी नागरिक क्याटालिन कारिको र अमेरिकी चिकित्सक ड्रिउ वेसम्यानले जितेका थिए ।
नोबेल पुरस्कारको सिजन सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै सकिने छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई औपचारिकरूपमा अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्र विज्ञानमा बैंक अफ स्विडेन प्राइज भनिन्छ ।
यी पुरस्कार आगामी डिसेम्बरमा ओस्लो र स्टकहोममा प्रदान गरिने छ । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ ।
डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्राप्त गर्नेछन् ।
प्रतिक्रिया