काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन् ।
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर समूहले विद्रोह गरेका थियो ।
उनका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा कोशीको मुख्यमन्त्रीमा बनेका छन् । शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका हुन् ।
कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाले लिखित सहमति नै गरेका छन् । जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं ।’
प्रतिक्रिया