ओली भन्छन् : २०६५ साल फेरी आउँदैन, राजतन्त्र फर्कदैंन



कुश्मा (पर्वत्) – एमाले अध्यक्ष केपी शर्मा ओलीले देश पुन राजतन्त्र फर्कन नसक्ने बताएका छन् । उनले २०६५ साल फेरी नआउने बताएका हुन् ।

समृद्धिका लागि मध्यपहाडी लोकमार्ग संकल्प यात्राका क्रममा बिहीबार पर्वत्को कुश्मामा आयोजना भएको कार्यक्रममा ओलीले प्याँकिएको राजतन्त्र फेरी आउन नसक्ने बताएका हुन् । ‘अहिले प्रतिगामी शक्ति छटपट गर्न थालेको देखियो । म भन्न चाहन्छु : राजतन्त्रको सबैभन्दा निरंकुशकालमा संघर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन् । २०६५ साल फेरि आउँछ र ? त्यो सम्भव छैन । २०६५ साल फर्कन्न ।’

ओलीले राजावादी, पहिचानवादी र सरकारप्रति आक्रोस प्रकट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकार कुनै छिमेकी र केही शक्ति राष्ट्रको इसारामा चलेको संकेतसमेत गरेका छन् ।
‘देशमा एउटा सरकार छ । काम लाग्ने छैन । काम बिगार्ने छ । उत्तरबाट बाटो खोल्यौ । प्रयोग गर्ने आँट गर्दैन । हामीले नक्सा छाप्यौं । कार्यान्वयन गर्न सक्दैन’ उनले सरकारले चीनसँगका सम्झौता कार्यान्वयन गर्न नचाहेको र भारतसँग जायज मुद्दालाई समेत उठाउन नचाहेको बताए ।

‘बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौं भन्छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो । बङ्गलादेश जाने बाटो पाइसकेका छौं’ ओलीले प्रश्न गरे – बाङ्लादेश जाने बाटो पाए कालापानी, लिम्पियाधुरा सम्झौता गरेर छोड्दिन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ? चीनले दिने सहयोग लिन सरकार डराएको पनि उनले दोहोर्याए । ‘एउटासँग लिन्छ । अर्कोले दिन्छु भन्छ तर सहयोग लिन आँट गर्न सक्दैन । ५७ अर्ब दिन्छु भनेको छ । तर लिन सकेको छैन’ ओलीले भने ।

सुन तस्करीमा पनि सरकार संलग्न भएको आरोप ओलीको थियो । ‘चीन जाँदा सरकारबाट छुट्टी लिएर व्यापारिक कम्पनीसँग मिलेर बसे । त्यसपछि ३५ क्विन्टल सुन नेपाल आयो । त्यसपछि एक क्विन्टल आयो । एअरपोर्टमा होइन, बाहिरै समातिएको हो । साढे ९ केजी भेप पक्राउ परेको, अहिले दुई केजीमात्र छ । १०० केजी सुन आएको अब ६० केजी मात्र छ । अरु कति आयो आयो, आइराख्या छ’ उनले भने ।

भूकम्प प्रभावित जनताहरुलाई सरकारले कुनै सहयोग नगरेको र एमालेको पहलमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले बताए । ‘सरकार किन चाहियो ? जाजरकोट र रुकुम पश्चिममा जनताका पिडा हेर्न सक्दैन, सुन्दैन । अस्थायी आवास बनाएको छैन, दिएको छैन । हामीले खटाएका स्वयंसेवकले ८२३ घर बनाइदिँदा सरकार पैसा जम्मा गरेर बसेको छ’ ओलीले भने,‘सरकारको सहयोग नै छैन । जनतालाई सहयोग गर्न नदिने, जे बुझाउने सरकारलाई बुझाउने भनेको थियो । हामीले ५०२ वटा घरबाट भग्नावशेष झिक्यौंं ।’

सरकारले विकास निर्माणमा पनि केही नयाँ गर्न नसकेको ओलीले बताए । ‘मध्यपहाडी बाटो हेरेँ । एमालेको पालोमा जे बनेको थियो, त्यसपछि भत्केको ठाउँ टालेको पनि छैन । जनतामा निराशा बनाउने, युवालाई विदेश पठाउने । यहाँका मेडिकल कलेजलो सिट घटाइदिने, नर्सिङ कलेज खोल्न नदिने, बन्द गर्दिने । यो खालको स्थिति बनाउँछ गठबन्धनको सरकार’ उनले भने ।

नेपाललाई असफल राष्ट्र बनाउने प्रयास भइरहेको भएपनि एमालेले त्यसो हुन नदिने उनले बताए । ‘नेपाल असफल घोषित हुन लागेको छ । नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन । यो देशमा नेकपा एमाले छ, यस्ता चिज हुन दिनु हुँदैन, र दिंदैन’ उनले भने । पहिचानका नाममा एमालेविरुद्ध योजनाबद्ध आक्रमणको प्रयास भएको र सरकारले नै त्यस्ता प्रवृतिलाई संरक्षण गरेको ओलीले बताए । ‘पहिचानवादको नाममा भ्रममा पार्ने, फाटो पार्ने काम भइरहेको छ । कोशी प्रदेश नाम राखियो, साझा नाम राखियो त्यो हुँदैन भन्दै विदेशबाट संचालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्न तत्व लागिपरेका छन्’ ओलीले भने,‘कोशी प्रदेशमा प्रवेश गर्न दिन्नौं भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको विर्ता होइन । तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ । यो बुद्धि फेरिहाल । होइन भने सकिन्छौ । यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ११ बजे