प्रधानमन्त्री भन्छन् : विवाद र झमेलाले विकास हुन सकेन



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्र रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्नसके मात्र आर्थिक विकासको ढोका खुल्ने बताए । पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।


“ठूला पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ । विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने, “अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेका विकास आयोजनामा लागत बढ्दै जाने र राज्यलाई थप आर्थिक भार पर्न गएको अवस्था अहिले देखिन्छ ।

दश हजार आठ सय मेगावाट विद्युत् उत्पादन क्षमताको कर्णाली चिसापानी, चार सय केभी क्षमताका प्रशारण निर्माणलाई सरकारले महत्वका साथ अघि बढाइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । विकास निर्माणका काममा अहिले देखिएका विभिन्न खालका कठिनाइलाई चिर्दै अब्बल व्यवस्थापकीय ढङ्गबाट आफ्नो ज्ञान र सीपको सदुपयोग गरेर समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने उनले बताए । इन्जिनियर्सको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका लागि इन्जिनियर्स स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउने र अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै अगाडि बढिरहेको उनले बताए । नेपाल सङ्क्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलले नागरिकसँग गरेका प्रतिबद्धता र वाचा पूरा गर्ने चुनौतीपूर्ण अवसर आफूले प्राप्त गरेकोसमेत बताए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : ०४ बजे