राष्ट्रियताको संरक्षण गर्न एमालेको सरकार चाहिन्छ : ओली



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघिबढिरहेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उहाँले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताउनुभयो । अध्यक्ष ओलीले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको बताउनुभयो ।

अध्यक्ष ओलीले देशको भूमि रक्षा, राष्ट्रियता, स्वाधीनताको तथा राजनीतिक उपलब्धिको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहेकाले त्यसका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले एमालेले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण तथा कामको जिम्मेवारी बाडफाँटका क्रममा तछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिने/दिने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो ।

देश तथा राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्न ‘मिसन–२०८४’अभियान सञ्चालन गरिएको अध्यक्ष ओलीको भनाइ थियो । मिसन–२०८४ प्रदेश कमिटीको कामबाट सफलता मिल्ने भन्दै उहाँले प्रदेशअन्तर्गतका वैचारिक, साङ्गठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीलाई आग्रह गर्नुभयो ।

भेलामा महासचिव शङ्कर पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध बनाउँदै पार्टीलाई जनतामा स्थापित गर्ने काम गरेको बताउनुभयो । भेलामा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहभागिता थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १० : ४५ बजे