राष्ट्रिय सभामा भागबण्डा : माधवलाई २ सिट, सिकेले नपाउने



काठमाडौं– राष्ट्रिय सभामा सिके राउत र रेशम चौधरीवाहेक सत्तारुढ दलका अन्य नेताले सिट भागबण्डा लगाएका छन् ।

माधव नेपालको एकीकृत समाजवादी पार्टीलाई दुइ सिटभन्दा बढी दिन नसकिने कांग्रेस र माओवादीले अडान लिएपछि उनी असन्तुष्ट छन् । तर अन्ततः त्यतिमै चित्त बुझाउनुवाहेक उनीसँग विकल्प पनि छैन ।

राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६ र जनता समाजवादीले एक लिने सहमतिनजिक नेताहरु पुगेका छन् । अन्तिम टुंगो आज आइतबार बस्ने गठबन्धन बैठकले लगाउने सम्भावना छ । एक सिट पनि नपाउने भएपछि सिके राउत पनि गठवन्धनका प्रमुख नेतासँग असन्तुष्ट छन् ।

भागबण्डा गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुको बैठक बसेको थियो । सूदूरपश्चिममा पुरुष कांग्रेसलाई, महिला माओवादीलाई, लुम्बिनीमा महिला कांग्रेस, पुरुष माओवादीलाई, मधेशमा महिला कांग्रेसलाई, पुरुष जनता समाजवादीलाई, कोशीमा पुरुष कांग्रेसलाई, महिला माओवादीले लिने सहमति भएको छ ।

राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ३१ बजे