सत्तारुढ पार्टी नै सरकारको विरोधमा, ‘साइकल चोर’लाई कारवाहीको माग



जनकपुरधाम, माघ ३ – मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक पार्टी जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । डा. सिके राउत नेतृत्वको पार्टी मधेश सरकारको विरोधमा सडकमा आएको हो । पार्टीकै दुई नेता सरकारमा छन् ।


जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।उपलब्धि सार्वजनिक गरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले भने विरोध प्रदर्शन गरे । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरे ।

कार्यक्रमको बिचमै जनमतका नेता÷कार्यकर्ताहरूले प्रदर्शन गर्दा खैलाबेला मच्चिएको थियो । त्यसपछि मुख्यमन्त्री सरोजकुमार यादवले ‘साइकल काण्ड हमारे पालामे थोरही न हुवा है’ भनेका थिए । साइकल काण्ड जसपाकै पहिला मुख्यमन्त्रीको पालामा भएको थियो । आफ्नो पालामा नभएको उनले बताएका थिए ।

विरोधका बीच उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरे ।
२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए । एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमपछि अब त्यही हलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन थालेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ३१ बजे