काठमाडौँ, माघ १० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हिमपातको सम्भावना रहेको क्षेत्र तथा हुस्सु र कुहिरो लाग्ने भूभागमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।



प्रतिक्रिया