थ्री स्टार क्लब आहा रारा गोल्डकपको उपाधि नजिक



काठमाडौँ, १७ माघ । पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा थ्री स्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

बुधबार पोखरा रङ्गशालामा सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्री स्टारले जावलाखेल युवा क्लबलाई १–० ले पराजित गर्दै जारी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्री स्टार फाइनलमा पुगेको हो।

उनले खेलको ७८औँ मिनेटमा प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो। ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७औँ मिनेटमा मैदान प्रवेश गरेका थियो।

थ्री स्टार आहा राराको सफल टोली हो। हालसम्म थ्री स्टारले पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ। जारी प्रतियोगितामा थ्री स्टारले प्रि–क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो। जावलाखेलले प्रि–क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो।

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले दिए।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ। च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ।

विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ५२ बजे