बिभिन्न पार्टी परित्याग गर्दै नेताहरु आजपामा प्रवेश



काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई समृद्ध बनाउँन नसकेको र कुर्सी बचाउँने, गिराउँने खेलमा रमाई रहेको साहको दावी छ।

आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज बिभिन्न पार्टीका नेतालाई आजपामा प्रवेश गराउँदै उनले मुलुकलाई समृद्ध बनाउँन आम जनताको शासन व्यवस्था आवश्यक रहेको बताए ।

पटक–पटक सरकारको नेतृत्व गरिसकेका र सरकारको नेतृत्व हत्याउँने खेलमा लागेका नेताहरुकै कारण मुलुक समृद्ध हुन नसकेको उनको दावी छ । ‘सरकार बनाउँने र गिराउँने खेलमै उहाँहरुको समय बितिरहेको छ । जनताको समस्या सुन्ने, सम्बोधन गर्ने, मुलुकलाई समृद्ध बनाउँने, रोजगारी सृजना गर्ने, युवालाई नेपालमै रोजगारी दिने, भ्रष्टाचारीलाई कारवाही गर्ने लगायतका काममा उहाँहरुको ध्यान कहिल्यै गएन’ अध्यक्ष साहले भने ।

बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेलाई स्वागत गर्दै उनले पार्टीले सञ्चालन गरिरहेको भ्रष्टाचारीलाई कारवाही गर्ने अभियानमा जुटन आग्रह गरे । सोसल डेमोक्रेटिभ पार्टीका पोलिटब्यूरो सदस्य तथा काठमाडौ–१० बाट सविधानसभा सदस्य प्रत्यासी कपिल थापा, राष्ट्रिय जनमुक्ति पार्टी भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा, कलाकार कपिल कुमार क्षेत्री र अखिल नेपाल होटेल क्यासिनो मजदुर संघका केन्द्रीय नेता अमर थापा मगर रामेछाप, ललितपुरको बामपन्थी नेता सूर्यमान महर्जन लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

आजपाले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली गर्दैछ । भ्रष्टाचार बढदै जाँदा मुलुकको आर्थिक अवस्था विग्रदै गएको निष्कर्ष निकाल्दै आजपा भ्रष्टाचारका बिरुद्धमा बिभिन्न कार्यक्रमका साथै देशैभरी आन्दोलन गर्दै आएको छ । पार्टीको यही अभियानलाई सफल बनाउँनु सबैले आ–आफ्नो क्षेत्रमा जुटनुपर्ने उनले बताए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : २६ बजे