अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने



काठमाडौँ, १९ माघ : संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ ।

संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज भएको छलफल भएको हो । पहिलो चरणमा यही माघ २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुने गरी समर्थन गरिएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई समय व्यवस्थापन गर्न सहज हुने बताउँदै त्यही बीचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको जनाउनुभयो । साथै हरेक महिनाको अन्तिम साता संसद्का बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बीचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको छ ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा सभामुख घिमिरेले यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर भई संसद् सचिवालयलाई सघाउन आग्रह गर्नुभएको थियो । छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ४८ बजे