एनएसजेएफ र प्लाजा होटल्स ग्रुपबीच पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनमा सम्झौता



काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को २० औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स गु्रपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ। सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुनेछ। स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधा पहिलो चरणमा ८–८ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।

पिपल्स च्वाइस विधामा भने ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। पब्लिकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन्। मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको छ। त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज NSJF Pulsar Sports Award र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज Pulsar Nepal बाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ। त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन्। सह–प्रायोजक बनेवापत प्लाजा होटल्स गु्रपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ। त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ।  

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल गु्रपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा गु्रपका प्रवन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  २ : २२ बजे