रोहितको उत्कृष्ट बलिङमा क्यानडामाथि नेपालको रोमाञ्चक जित



माघ २५, काठमाडौँ । कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरेसँगै घरेलु टोली नेपालले तीन एक दिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदनामा सम्पन्न खेलमा नेपालले पाहुना टोली क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २१७ रन मात्रै बनायो। नेपालका लागि रोहितले ८.५ ओभर बलिङ गर्दै २ मेडनसहित २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।

क्यानडाले ४२.२ ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो। त्यतिखेर उदय भगवान र साद बिन जाफर कृजमा थिए। तर, उनीहरूलाई रोहितकुमार पौडेल र ललितनारायण राजवंशीले आउट बनाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।

४४औँ औभरको अन्तिम बलमा उदय भगवान १३ बलमा १ चौकासहित ६ रन बनाउँदै बोल्ड भए। उनको विकेट रोहितले लिएका थिए।

त्यसलगतै क्यानेडाली कप्तान आउट भए। ४५औँ ओभरको दोस्रो बलमा ललितले कप्तान साद बिन जाफरलाई ७ रनमा एलबीडब्यू आउट गराएका थिए। ४७औँ ओभरको पाँचौँ बलमा डिलोन हेलिगरलाई ललितले एलबीडब्यू आउट गराए। उनले ३ बलमा २ रन बनाए।

४८औँ ओभरको पाँचौँ बलमा रोहितले ईश्वरजोत सोहीलाई बोल्ड गरे।

दोस्रो ओभरको अन्तिम बलमा आरन जोन्सनले १२ रनमा जीवनदान पाए। डीप कभरमा उनले प्रहार गरेको बल ललितनारायण राजवंशीमा क्याच लिन सकेनन्। क्यानडाले पहिलो विकेट तेस्रो ओभरको पाँचौँ बलमा गुमायो। १० बलमा १ चौकासहित ६ रन बनाएर खेलिरहँदा नवनित धालिवाल रिजन ढकालको बलमा सिल्पमा आरिफ शेखबाट क्याच आउट भए।

छैटौँ ओभरको अन्तिम बलमा आरन जोन्सन सोमपाल कामीबाट एलबीडब्यू आउट भए। उनले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाए।

६ ओभरमा २-३५ मा रहेको अवस्थामा क्यानडाको इनिङ्स प्रगत सिंह र निकोलस कृतनले उकासे। उनीहरूले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे। प्रगत २०औँ ओभरको चौथो बलमा डीप ब्याकवार्ड स्क्वायर लेगमा रहेका ललितनारायण राजवंशीबाट क्याच आउट भए।

रोहितकुमार पौडेलको बलमा आउट हुनुअघि उनले ५८ बलमा ९ चौकासहित ५० रन बनाए। करिअरको यो उनको तेस्रो अर्धशतक हो।

३३औँ ओभरको अन्तिम बलमा हर्श ठाकर ४३ बलमा ३ चौकासहित ३२ रन बनाएर बोल्ड भए। उनी कुशल मल्लको बलमा बोल्ड भएका हुन्। उनी र निकोलसले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे।

श्रेयस मोभाले १ रनमा पेभिलियन फर्किए। रोहितको बलमा उनी कभरमा सोमपाल कामीबाट क्याच भए। ४०औँ ओभरको चौथो बलमा निकोलस पवन सर्राफको बलमा बोल्ड भए। ९९ बल खेलेका उनले ७ चौकासहित ६८ रन बनाए।

नेपालका ललितनारायण राजवंशीले २ विकेट लिँदा कुशल मल्ल, सोमपाल कामी, रिजन ढकाल र पवन सर्राफको नाममा १/१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।

पहिलो विकेटका लागि कुशल र आशिफ शेखबीच ४८ रनको साझेदारी भएको थियो। आशिफ २४ बलमा ८ रन बनाएर १०औँ ओभरको पहिलो बलमा थर्ड म्यानमा रहेका नवनित धालिवालबाट क्याच आउट भए।

१५औँ ओभरको तेस्रो बलमा कप्तान रोहितकुमार पौडेल ८ रनमै आउट भए। उनले १७ बलमा १ चौका प्रहार गरेका थिए।

१९औँ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल स्टम्पिङ भए। कृजमा टिकेर खेलिरहेका उनी साद बिन जाफरको बलमा विकेटकिपर श्रेयस मोभाबाट स्टम्पिङ भएका हुन्। उनले ५८ बलमा ९ चौका र १ छक्कासहित ६२ रन बनाए।

सन् २०२१ सेप्टेम्बर ७ मा ओमानस्थित अल इमिरेतमा पपुवा न्यू गिनीविरुद्धको शृंखलामार्फत् डेब्यू गरेका उनको यो सातौँ अर्धशतक हो। ४७ ओडीआई खेल्दा नामिबियासँग मात्रै शतक प्रहार गरेका छन्।

सन् २०२३ मा कीर्तिपुरमा भएको लिग २ मा उनले नामिबियाविरुद्ध ११५ रनको इनिङ्स खेलेका थिए।

२३औँ ओभरको तेस्रो बलमा भीम सार्की एलबीडब्यू आउट भए। उनले २६ बलमा २ चौकासहित १७ रन बनाए। उनी जाफरको बलमा आउट भएका हुन्।

३०औँ ओभरको तेस्रो बलमा कुशल मल्ल डीप स्क्वायरमा निकोलस कृतनबाट ३२ बलमा १ चौका र १ छक्कासहित २० रन बनाएर क्याच आउट भए। उनी हर्श ठाकरको बलमा आउट भएका हुन्।

नेपालको छैटौँ विकेट ३९औँ ओभरको पाँचौँ बलमा खस्यो। उदय भगवानले आरिफ शेखलाई ३८ रनमा बोल्ड गरे। उनले ५० बलमा ४ चौका प्रहार गरे।

४२औँ ओभरको पहिलो बलमा पवन सर्राफ पनि एलबीडब्यू आउट भए। उनले ३४ बलमा १ चौकासहित १५ रन बनाए। उनलाई शाहिद अहमजाईले आउट बनाएका हुन्। राष्ट्रिय टोलीमा पूनरागमन गरेका उनको यो नै सर्वाधिक रन हो। सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध भएको लिग २ मा सर्वाधिक १० रन बनाएका थिए।

आठौँ नम्बरमा कृजमा आएका सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्कासहित २७ रन बनाए। उनी ४९औँ ओभरको पाँचौँ बलमा मिडअफमा प्रगत सिंहबाट क्याच आउट भए। भगवानको बलबाट आउट हुनुअघि सोमपालले डेब्यू ब्वाइ सूर्य तामाङसँग ३७ रनको साझेदारी गरे।

सूर्य १० रनमा अविजित रहँदा रिजन ढकाल ४ र ललितनारायण राजवंशी १ रनमा पेभिलियन फर्किए।

क्यान्डका उदय भगवानले सर्वाधिक ३ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले १ मेडनसहित ४० रन खर्चिए। साद बिन जफर र ईश्वरजोत सोहीले २/२ विकेट लिए। शाहिद अहमजाई र हर्श ठाकरको नाममा १/१ विकेट रह्यो।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ५६ बजे