एसिसी वुमन्स प्रिमियर कप: हङकङलाई पराजित गर्दै नेपालको विजयी सुरुवात



काठमाडौँ, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ।

जितका लागि ९४ रनको लक्ष्य पाएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै ९५ रन बनाएर लक्ष्य पूरा गर्यो। 

नेपालको जितमा ब्याटिङतर्फ कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन्। उनी ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४० रनमा चान बेट्टीले सियू एलीसनबाट क्याच भइन्। 

सिता राना मगर ३८ बलमा ३६ रन बनाइन्। उनले १ चौका र १ छक्का प्रहार गर्दै अविजित रहिन्। यस्तै ओपनर कविता कुँवरले ४ रन बनाउँदा रुविना क्षेत्रीले २ बलमा शून्य रनमा अविजित रहिन्।

त्यसअघि मलेसियाको सेलाङगर टर्फ क्लबमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्।

हङकङले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो। हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्। उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन्। यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन्।  

बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले २२ तथा कविता जोशी र सीता रानामगरले ११ विकेट लिइन्। 

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन्। 

जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन्। एसिसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइलैण्ड छन्। समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन्। यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार रहेका छन्। 

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन्। सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन्।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : २१ बजे