रोहित र देवको उत्कृष्ट साझेदारीमा क्यानडाविरुद्ध नेपाललाई सिरिज



माघ २७, काठमाडौँ । कप्तान रोहित कुमार पौडेल र देव खनाको सानदार ब्याटिङमा क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा जित निकाल्दै नेपालले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित कुमार पौडेल र देव खानलको १५० रनको उत्कृष्ट साझेदारीमा ४ विकेटले पराजित गरेको हो।

नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहिनले ८७ रनको इनिङ खेले। रोहितले १०१ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरे।

यस्तै देव खनालले ७६ रन बनाए। कप्तान रोहितसँगको उत्कृष्ट साझेदारीमा नेपालले देवलाई ३४औं ओभरको पाँचौ बलमा हर्ष ठेकरले कट एन्ड बोल्डमा गुमाएको थियो। देवले ८१ बलमा सात चौका र दुई छक्का प्रहार गरे।

नेपालका ओपनर अनिल साह ५०, भिम सार्की २३ रनमा आउट भए। अनिलले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पवन शराफ १४ र आसिफ शेख १० रनमा आउट भए। यस्तै कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे। पहिलो विकेट लागि अनिल र आसिफले ५५ रनको साझेदारी गरे।

त्यसअघि टस जितेर पहिले बलिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८५ रन बनाएको थियो।

क्यानडाका लागि ब्याटिङतर्फ आरोन जोनसनले ६२ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले। उनले १० चौका र २ छक्का प्रहार गर्दै भीम सार्कीबाट रन आउट भए। जोनसन ५० बलमा ४२ रनमा रहँदा आकाश चन्दको बलमा सुर्य तामाङले क्याच मिस गरेका थिए।

जोनसन र धलीवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। नविनित धलीवालले ६० बलमा ४६ रन बनाए। उनले ८ चौका प्रहार गरेका थिए। धलीवाल १८ दशमलब २ ओभरमा आकाश चन्दको बलमा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए। आकाशको ओडिआईमा यो डेब्यु विकेट रहेको थियो। चन्दले आज नै ओडिआई डेब्यु गरेका थिए।

प्रगत सिंहले ३८ बलमा ३८ रन बनाए । सिंहले ६ चौका प्रहार गरेका थिए। उनी कप्तान रोहितकुमार पौडेलको बलमा सोमपाल कामीद्वारा क्याच आउट भए। सिंह नेपाली कप्तान पौडेलको नै बलमा देव खनालले क्याच मिस गरेका थिए। क्याच मिस हुँदा उनले २३ बलमा ३० रन बनाएका थिए।

सिंहले पहिलो ओडिआईमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए। सोहि ओभरमा कप्तान पौडेलले निकोलस किर्टनलाई आशिफ शेखबाट स्टिम्पीङ गरेका थिए । निकोलसले २९ बलमा २० रन बनाएका थिए।

पाँचौ विकेटका रुपमा ३४ दशमलब ५ ओभरमा सुर्य तामाङले हर्ष थाकरलाई आउट गराए। सुर्यको यो ओडिआई खेलको डेब्यु विकेट समेत रहेको थियो। उनले यसै सिरिजको पहिलो खेलमा डेब्यु गरेका थिए।

छैटौं विकेटका रुपमा दिलप्रति बाज्वालाई ३८ दशमलब ४ ओभरमा कुशल मल्लले बोल्ड आउट गराए। क्यानडाको सातौं विकेटका रुपमा ४० दशमलब ४ ओभरमा कप्तान साद विन जाफर कुशल मल्लको बलमा पवन सरार्फबाट क्याच आउट भए।

आठौं विकेटका रुपमा ४४ दशमलब ५ ओभरमा शाहिद अहमदजाई १३ रन बनाउँदै पवन सरार्फको बलमा बोल्ड भए। नवौं विकेटका लागि श्रेयस मोभ्भा र उदय भगवानले ४६ रनको साझेदारी गरे। मोभ्भाले ४२ बलमा ४० रनबनाउँदा भगवान २० रनमा अविजित रहे।

पहिलो विकेटका लागि ९४ को साझेदारी भएपनि नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा समेटियो। नेपालका लागि कप्तान रोहित पौडेल तथा कुशल मल्लले समान दुई दुई तथा पवन सरार्फ, सुर्य तामाङ, सोमपाल कामी र आकाश चन्दले समान एक एक विकेट लिए।

क्यानडाविरुद्धको पहिलो खेलमा खेलेका तीन जना खेलाडीलाई बेन्चमा राखिएको छ। ललितनारायण राजवंशी,कुशल भुर्तेल र आरिफ शेख बेन्चमा रहेका छन्।

आजको खेलमा आकाश चन्द, देव खनाल र अनिल शाहलाई टिममा समेटिएको छ। आकाशको यो ओडिआई डेब्यु खेल हो। आकाश नेपालका लागि ओडिआई खेल्ने ४०औं खेलाडी हुन्।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३० बजे