इरास्मसले ५ विकेट लिएपछि १३२ रनमा समेटियो नेपाल



फागुन ३ काठमाडौँ । कप्तान ग्रेहार्ड इरास्मसले ५ विकेट लिएसँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो। नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। ८६ बलमा २ चौका र १ छक्का प्रहार गरेका उनी ४४ रनमा एलबीडब्यू आउट भए। उनी २८औँ ओभरको चौथो बलमा ग्रेहार्ड इरास्मसको बलमा आउट भएका हुन्। ९.३ ओभरमा नेपाल ४-२१ स्थितिमा रहेको थियो। तर, पाचौँ विकेटका लागि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गरे। कुशल २०औँ ओभरको पाँचौँ बलमा टाँगेनी लुङ्गामेनीबाट स्क्वयर लेगमा क्याच आउट भए।

इरास्मसको बलमा आउट हुनुअघि कुशलले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। लगत्तै सातौँ नम्बरमा आएका सोमपाल कामी पनि २ रनमा पेभिलियन फर्किए। गुल्शन झा २१, करण केसी १६ र पवन सर्राफ १२ रनमा आउट हुँदा ११ बल खेलेका ललितनरायण राजवंशीले खाता खोल्न सकेनन्। नेपालका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालको खराब शुरूआत
पहिलो पावरप्लेमा २५ रन बनाउन नेपालले ४ विकेट गुमाएको थियो। पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल क्याच आउट भए। रुबेन ट्रम्पलम्यानको बलमा उनी स्लीपमा जोहानेस जोनाथन स्मिथबाट क्याच आउट भए।

तेस्रो ओभरको पहिलो बलमा अनिल साह पनि रुबेनको बलमा एलबीडब्यू आउट भए। उनले ६ बलमा २ चौकासहित ८ रन बनाए।

चौथो ओभरको पाँचौँ बलमा अर्का ओपनर आशिफ शेख सिल्ली मिडअनमा स्मिथबाट क्याच आउट भए। ११ बलमा १ चौकासहित ४ रनमा बनाएका उनी ज्याक ब्रासेलको बलमा आउट भएका हुन्।

१०औँ ओभरको तेस्रो बलमा कप्तान रोहितकुमार पौडेल ब्रासेलबाट बोल्ड भए।

ग्रेहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए। उनले ८.१ ओभरमा २८ रन खर्चिए। रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले २/२ विकेट लिए। जान निकोलको नाममा १ विकेट रह्यो।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : ३९ बजे