एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग ४ विकेटले पराजित



फागुन ४ काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ।

शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो।

जितका लागि ११६ रनको लक्ष्य पछएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो।

हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन्। हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो। अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो।

कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो। नेपालका लागि कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन्। मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन्। तीन खेलाडी रनआउट भए।

यो जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ। बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो।

समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ०४ बजे