वाफ च्याम्पियनसिप नेपालको सुखद सुरुआत



फागुन ८ काठमाडौँ । सिरियामाथि ४-१ को जित निकाल्दै नेपालले वेस्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।

मंगलबार साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरिन्। सिरियाका लागि कप्तान नुर मुस्ताफाले एक सान्त्वना गोल फर्काइन्।

जितसँगै समूह बीको नेपालले तीन अंक जोडेको छ। सिरियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

अब नेपालले बिहीबार इराकको सामना गर्नेछ। पश्चिमी क्षेत्र (गल्फ)का राष्ट्रहरुसम्मिलित यस प्रतियोगितामा नेपालले पहिलो पटक आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : १२ बजे