इलाम–२ र बझाङ प्रदेशसभा–१ मा वैशाख १५ गते उपनिर्वाचन



काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले सरकारसँगको परामर्शमा उपनिर्वाचन मिति घोषणा गरेको जनाएका हुन्।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। गत वर्ष ०७९ को मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको सवारी दुर्घटनामा निधन भएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : ११ बजे