जोर्डनसँग टाइब्रेकरमा स्तब्ध नेपाल



काठमाडौं । पश्चिम एसियाली वाफ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित भएको छ। साउदी अरेबियामा विहीबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम जोर्डनसँग टाइब्रेकरमा नेपाल स्तब्ध भएको हो।

पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल फाइनलमा सावित्रा भण्डारी विनै मैदान उत्रिएको थियो। सावित्रा सेमिफाइनलसम्म खेलेर क्लब फुटबल खेल्न फ्रान्स फर्किए पछि उनी विनै मैदान उत्रिएको नेपाली टोलीले सुरुआती अग्रता लिए पनि जोगाउन असफल भयो । अन्त्यतिर एक गोलले पछि परेको नेपालले पेनाल्टीमार्फत बराबरी गर्दै खेल टाइब्रेकरमा लगेको थियो। जसमा नेपाल जोर्डनसँग ५-३ गोल अन्तरले पराजित हुँदै पहिलो उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेन।

नेपालले अहिलेसम्म ११ पटक फाइनल खेल्दा एक पटक पनि उपाधि उचाल्न सकेको छैन। जोर्डनविरुद्ध विहीबार रातिको फाइनलमा नेपालले सुरुआती अग्रता लिएको थियो।

२९औँ मिनेटमा सविता रानामगरले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी थिइन्। सावित्रा नहुँदा सविताले पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएकी थिइन्। जोर्डनमाथि नेपालले दबाब बनाए पनि ७४औँ मिनेटमा लाना फेरासले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याइन्। ८९ औं मिनेटमा जोर्डनले गोल गर्दै २-१ को अग्रता लिएको थियो। सराह अबु सबाहले गोल गरेपछि नेपाल जोर्डनविरुद्ध पछि परेको थियो।

दोस्रो हाफमा अतिरिक्त ८ मिनट थप गरेपछिको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले नेपालकी रेखा पौडेलाई डीबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुग्यो। त्यसपछि बाँकी समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो। जसमा जोर्डनका ५ खेलाडीले गोल गर्दा नेपालका ३ खेलाडीको मात्रै प्रहारले जाली चुम्यो।

नेपालबाट गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले मात्रै गोल गरे । जोर्डनका लागि आया अल मजाली, मायसा बाराह, नोउरा जोक्वास, सराह आबु सबाह र रौजवहान फ्राइजले गोल गरे । यसैबीच, नेपालकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन्। उनले सेमिफाइनलसम्मका ४ खेलमा ९ गोल गरेकी थिइन्। फाइनल गुमाए पनि उनको गोल संख्या अन्य खेलाडीले तोड्न सकेनन्। सावित्राले इराकविरुद्ध पाँच प्यालेस्टाइनविरुद्ध दुई तथा सिरिया र लेबनानविरुद्ध एक गोल गरेकी थिइन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ३३ बजे