राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप


रासस

७ जेष्ठ २०८१, सोमबार  

38
Shares

काठमाडौँ, ७ जेठ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल समावेश गरिएका थिए । मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको जानकारी दिए ।

दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको छ । कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक हाल तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २०औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर तथा त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो । गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदलगत्तै राखेपले २०औँ संस्करणका लागि तयारी सुरु गरेको हो । सदस्य–सचिव घिसिङले छोटो तयारीको भरमा खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९औँ एसियाली खेलकुदलगत्तै राष्ट्रिय टोलीको तयारीको विशेष प्रशिक्षण आरम्भ गरिएको बताए । नेपाली चलचित्रका नायक राजेश हमालको उपस्थितिमा भएको उक्त उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा लक्ष्य पूरा गर्न नायकहरु खोजिरहेको बताए । खेलाडीमध्येबाट नै खेलकुदको नायक पाउने उनले विश्वास व्यक्त गरे ।

उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने उल्लेख गर्दै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा राखे । राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य–सचिव घिसिङले चालेको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे । उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल सामग्री प्रदान गरिएको थियो । सो अवसरमा डा ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङसम्बन्धी जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ९ : ५२ बजे