असुरक्षाका कारण बंगलादेशमा पढ्दै आएका बिद्यार्थीलाई नेपाल फर्काइदैं



काठमाडौ – सरकारले बंगलादेशमा भएको आन्दोलनका कारण असुरक्षित रहेका त्यहाँ अध्ययनरत् नेपाली बिद्यार्थीलाई नेपाल फर्काउने भएको छ ।

भोलि (आइतवार) विहान इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली बिद्यार्थी नेपाल फर्कदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली बिद्यार्थीलाई भोलि विहान काठमाडौं फर्काउने प्रवन्ध सरकारले गरेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी दिनुभएको हो ।

बिद्यार्थीका परिवारका सदस्यले नेपाल फर्काइदिन माग गरेअनुसार सरकारले यस्तो प्रवन्ध गरेको हो । ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्’ प्रधानमन्त्रीले लेख्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ती विद्यार्थीका परिवारसँग आज आफ्नो भेट भएको र परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : २३ बजे