तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर न्यालममा अलपत्र



तिब्बतको न्यालम क्षेत्रमा आइतबार र सोमबार परेको वर्षासँगै आएको बाढीले चीनको सिगात्से–न्यालम–खासा सडकखण्ड क्षतविक्षत भएको छ ।

सडक अवरुद्ध हुँदा उत्तरी नाका तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर चीनतर्फको न्यालम क्षेत्रमा अलपत्र परेका भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले बताए । ‘चीनको सिगात्से–न्यालम–खासा सडकखण्डको विभिन्न स्थानमा ४० देखि ५० मिटर सडकखण्ड बाढीले बगाएपछि यातायात ठप्प भएको छ,’ उनले भने । वर्षा सामान्य रहे पनि बाढी र पहिरोले सडक क्षतविक्षत बनाएको उनले बताए ।

हाल न्यालम काउन्टी सरकारले आपतकालीन पूर्वाधार निर्माण गरेर दुई दिनभित्र सडक सञ्चालन गर्ने तयारी थालेर काम अघि बढाएको छ । भोटेकोशी बाढीले रसुवागढी नाकामा क्षति पुर्‍याएपछि रसुवाको टिमुरे भन्सारतर्फ जान लागेका ५० भन्दा बढी कन्टेनर अब खासा हुँदै तातोपानीतर्फ डाइभर्ट गरिएको छ । अहिले चीनका सेना र सुरक्षाकर्मीहरू सडक मर्मतमा खटिएका छन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुँडालले चीनको न्यालम क्षेत्रको विपद् अवस्थाबारे यथार्थ विवरण लिइरहेकाे जानकारी दिए । ‘खासा पुनर्निर्माण अन्तिम चरणमा रहेकाले जाङ्मु पोर्टको सडक समेत राम्रो छैन । उता बाह्रबिसे–लिपिङ–कोदारी सडकखण्ड पनि वर्षातसँगै उस्तै जोखिममा परेर क्षतिग्रस्त बनाइरहेकाे देखिन्छ,’ उनले भने ।

उत्तरतर्फका दुवै प्रमुख नाकामा बाढी र पहिरोले अवरोध गरेपछि चीन–नेपाल सीमा व्यापार फेरि संकटमा पर्न सक्ने चिन्ता व्यवसायीमा बढेको छ ।

तटीय बस्तीमा सर्तकता

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ भेगमा वर्षा थप भइरहने भएकाले सुरक्षा सर्तकता लागि समन्वय गरिरहेकाे बताए ।

‘छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन्,’ उनले भने । प्रजिअ थापाका अनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ ।

चिनियाँ चेतावनीपछि भोटेकोशी नदी आसपासका सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको जानकारी दिए । न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ४३ बजे