जेठसम्ममा मुल्य वृद्धिदर २.७२ प्रतिशत



सर्वसाधारणले खरिद गर्ने सामानको मूल्य वृद्धिदर (मुद्रास्फीति) गत जेठमा औसत २.७२ प्रतिशत रहेको छ ।
गत वर्षको सोही महिनामा यस्तो वृद्धिदर ४.१७ प्रतिशत थियो । गत वैशाखको तुलनामा पनि जेठमा मूल्य वृद्धिदर घटेको हो ।


गत जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैर–खाद्य तथा सेवाको ३.९४ प्रतिशतले मात्र बढेको छ । गत वर्षको जेठमा यी समूहहरूको ममूल्यवृद्धि क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।


समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको मूल्यवृद्धि १०.०६, गैरमदिराजन्य पेय पदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।


तर, तरकारी उपसमूहको मूल्यवृद्धि ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।


जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो ।


चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आव जेठसम्म यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो । चालु आव सोही अवधिको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा ८.७ प्रतिशत बढेको हो ।


२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ३२ बजे