मौद्रिक नीति सार्वजनिक

घर खरिद वा निर्माणमा ३ करोडसम्म कर्जा पाईने



नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ नीति सचेत देखिएको छ ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आवास कर्जाको सीमा बढाएको छ । गभर्नर विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै आवासीय कर्जाको सीमा बढाइएको बताउनुभयो ।


राष्ट्र बैंकले निजी आवासीय घर निर्माण÷खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढाएको हो । अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यसअघि दुई करोड रुपैयाँ कर्जा पाइन्थ्यो । पहिलो घर निर्माण÷खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म हुने जनाएको छ । अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापन गर्न ऋणपत्र निष्कासन गर्ने जनाएको छ ।
विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो रहेको, ब्याजदर न्यून रहेको लगायत विद्यमान सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो देखिन्छ ।

आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार गर्ने प्रक्षेपण गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ ।


बैंक तथा वित्तीय संस्था एवम् अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ । ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : २१ बजे