एयर इन्डिया दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट सार्वजनिक, इन्धन स्विच ‘कट–अफ’ रहेको खुलासा



गत जुन महिनामा भारतको अहमदावादमा भएको बिमान दुर्घटनाको मुख्य कारण इन्धन नियन्त्रण स्विच ‘कट–अफ’ हुनु रहेको पुष्टि भएको छ । एयर इन्डियाको विमान दुर्घटनाबारे सार्वजनिक गरिएको प्रारम्भिक रिपोर्टमा दुबै इन्धन नियन्त्रण स्विच ‘कट–अफ’ रहेको पुष्टि भएको छ । यो भनेको इन्जिन बन्द गर्ने प्रक्रिया हो, जुन विमान दुर्घटनाको केही क्षण अगाडि भएको देखिन्छ ।

रिपोर्टमा समावेश गरिएको ककपिटको अडियो विवरण अनुसार, दुई पाइलटबीच अन्यौलपूर्ण अवस्था श्रृजना भएको पाइएको छ । एक पाइलटलाई सोधिएको अडियोमा सुन्न सकिन्छ, “तिमीले कट–अफ किन गर्‍यौ?“ जवाफमा अर्को पाइलटले भनेका छन्, “मैले गरेको होइन ।“

यो अडियोले दुर्घटनालाई झनै रहस्यमय बनाएको अधिकारीहरुले बताएका छन् । एक उड्डयन विज्ञले भनेका छन्, दुबै इन्धन स्विच एकैपटक तान्नु लगभग असम्भव छ ।

एयर इन्डियाका प्रवक्ताले एयरलाइन्सले सम्बन्धित निकायहरूसॅग पूर्ण रुपमा समन्वय गरिरहेको बताएका छन् । बोइङ कम्पनीले पीडितका परिवारप्रति समवेदना व्यक्त गरेको छ।

दुर्घटनामा कम्तीमा २ सय ६० जनाको मृत्यु भएको थियो भने एक जनाको जीवित उद्धार गरिएको छ ।
यसैबीच, भारतीय पाइलटहरूको सङ्गठन ‘एएलपीए इन्डिया’ले सार्वजनिक गरिएको प्रारम्भिक रिपोर्टप्रति प्रतिक्रिया जनाउॅदै अनुसन्धान प्रक्रियामा पारदर्शिता कायम गर्न माग गरेका छन् ।
सङ्गले अनुसन्धान गोप्य तरिकाले गरिएकोमा आश्चर्य व्यक्त गर्दै, अनुसन्धानमा योग्य विज्ञहरूलाई समावेश नगरिएको आरोप लगाएको छ ।

“अनुसन्धान प्रक्रियाले पाइलटहरूलाई दोषी ठान्दै अघि बढाइएको देखिन्छ, जुन सोचप्रति हामी गम्भीर आपत्ति जनाउाछौं,“ एएलपीए इन्डियाका अध्यक्ष क्याप्टेन स्याम थोमसले बताएका छन्।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : ४४ बजे