टिप्पणी: एमालेलाई कमजोर बनाउन ओलीमाथि प्रहार

पार्टीभित्रका लोभीपापीलाई थाहा छ, ओली रहुञ्जेल उनीहरुले अनुकूलको राजनीति गर्न सक्दैनन् । बाहिरका वामपन्थी भनिएकालाई लागेको छ, ओली नेतृत्वमा रहुञ्जेल एमालेलाई कमजोर बनाउन सकिदैंन । विदेशीलाई लागेको छ, उनीहरुका स्वार्थका गोटी ओली कहिलेपनि बन्दैनन् । त्यहीभएर सबैतिरबाट ओलीमाथि आक्रमण भएको हो । यो एमालेको पंक्तिले बुझ्नुपर्छ ।



काठमाडौं – पूर्वराष्ट्रपती बिद्यादेवी भण्डारीको एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहनामा पूर्णविराम लागेको छ ।
पार्टीले निर्णय गरेरै राष्ट्रप्रमुख भइसकेको र राजनीतिभन्दा माथी उठेर राष्ट्रकै संरक्षक भएको व्यक्ति फेरी दलीय राजनीतिमा फर्कन नहुने बतायो । पार्टीको यो निर्णयमा तीनजनाको फरक बिचार रह्यो, जसलाई सामान्यनै ठान्नुपर्छ । प्रजातान्त्रिक पार्टीमा यस्तो हुन्छ ।

तर एमालेले यो निर्णयमार्फत् एउटा महत्वपूर्ण बिषयमा पार्टीको निर्णय सुनायो । त्यो हो, देशको राष्ट्रपती र उपराष्ट्रपती भएको व्यक्ति पार्टी राजनीतिमा फर्कनु हुँदैन । संविधान र पार्टी विधानमा के लेखियो भन्ने होइन, भावना के हो भन्ने हेर्नुपर्छ । सामान्यत्, सेरेमोनियल हेड पार्टीको बिभाजित राजनीतिमा फर्कदैनन् ।
माओवादीभित्र यस्तो वहस नै हुँदैन, त्यहीभएर उपराष्ट्रपती नन्दबहादुर पुन पासाङ माओवादीको राजनीतिमा फर्केका छन् । यो प्रचण्डको सुविधा अनुसार भयो । यसमा कसैको प्रतिवाद देखिएन । यद्धपी, यो गलत अभ्यासको आरम्भ माओवादी गर्न खोज्यो ।
शायद, यो गलत अभ्यासको आरम्भले यता एमालेपनि प्रवाहित भयो । र, पूर्वराष्ट्रपतीलाई राजनीतिमा उतार्न केही नेता लागे । तर हुन खोजेको गलत प्रयोग एमालेले रोक्यो । यो ठिक छ । जो यो गलत अभ्यासका लागि पूर्वराष्ट्रपतीलाई उक्साउँदै थिए, तिनको ध्यान एमाले राम्रो होस् वा भण्डारी पुनः शक्तिशाली हुन भन्ने हुँदै होइन, भण्डारीलाई अघि बढाएर आफूले केही पद हत्याउनेवाहेक तिनमा केही सोच थिएन र छैन ।

यहाँ बिद्यादेवी भण्डारीको योग्यता र क्षमताको प्रश्न होइन । यो विलकुल थिती बसाउने कुरा हो । त्यसअर्थमा त्यता वहस गर्नै परेन । तर एमालेमा किन अहिले केपी शर्मा ओलीको बिकल्प छैन भन्ने कुरा एमाले नेता र कार्यकर्ताले बुझ्नुपर्छ ।
योग्यता र क्षमताका दृष्टिकोणमा एमालेभित्र मात्र होइन, समकालिन राजनीतिमानै ओलीको दर्जाको अर्को नेता छैन । ओलीको आलोचना किन बढी भइरहेको छ भन्ने प्रश्नको जवाफ हो–उनमा भएको शक्ति ।
एमालेका केही लोभीपापीलाई थाहा छ ओली रहुञ्जेल उनीहरुले चाहेजस्तो आफू अनुकूलको राजनीति गर्न सक्दैनन् । त्यस्तै, एमाले बाहिरकालाई, अझ वामपन्थी भनिएकालाई, लागेको छ, ओली एमालेको नेतृत्वमा रहुञ्जेल उक्त पार्टीलाई कमजोर बनाउन सकिदैंन । विदेशीलाई लागेको छ ओली एमाले प्रमुख र सरकार प्रमुख रहँदासम्म उनीहरुका स्वार्थका उनी गोटी बन्दैनन् । त्यहीभएर सबैतिरबाट ओलीमाथि आक्रमण भएको हो । यो एमालेको पंक्तिले बुझ्नुपर्छ । यस्तो बेला एमालेभित्र ओलीलाई प्रतिरक्षात्मक बनाउने खेल खेलिएको छ, जुन बेला सम्पूर्ण पार्टीको साथ चाहिएको थियो । ओलीले यो बुझेरनै त्यस्ता खेल असफल बनाएका हुन् ।

दोश्रो, एमाले ठिक तर ओली गलत भन्ने भाष्यको निर्माण । गजव छ, सकिएको एमाले बनाउने ओली । नेकपा बनाउने ओली । अनी, तिनै ओलीलाई पार्टीबिहिन बनाएर एमाले र नेकपा कब्जा गर्ने प्रचण्ड र माधवहरुको प्रयासलाई निस्तेज पार्ने ओली । अहिलेपनि त्यो स्थगित एजेण्डामा प्रचण्ड र माधवहरु लागेकै छन् । बिचरा सकेका भए उहिले गरिसक्थे, नसकेर ओली प्रधानमन्त्रीत्वको साक्षी बसेका हुन् । त्यसैले एमालेलाई आजको एमाले बनाउने व्यक्तिलाई हटाएर अर्को कमजोर पात्र खडा गरी एमाले कब्जा गर्ने प्रयास अहिलेपनि जारी छ । यसप्रति एमाले पंक्ति सचेत हुनुपर्छ ।

यस्ता खेल बाहिरबाट मञ्जन भइराख्छन् । र, पार्टीभित्रका केही तिनका गोटी बनिरहन्छन् । ती गोटीको पहिचान गर्ने र तिनलाई कारवाही गर्न चुक्नुहुँदैन । पार्टी अराजक मंच होइन, यो अनुशासित फोरम हो । अनुशासननै भएनभने त्यो पार्टी रहँदैन ।
तेश्रो, ओलीको उचाई । अहिले देशभित्र र बाहिरपनि बिभिन्न खाले राजनीतिक प्रवृति सृजित छन् । ती घरेलु र बाह्य चूनौतीको सामाना गर्न सक्ने नेता ओलीमात्र हुन् । यिनका दर्जनौ उदारण छन् । ओलीलाई माइनस गरेर न देशभित्र कुनै महत्वपूर्ण निर्णय हुनसक्छ र कुनै छिमेकी वा बाह्य देशले सम्वन्ध अघि बढाउन सक्छन् । ओलीले राष्ट्रिय स्वार्थमा कुनै मुलाहिजा कहिलेपनि गर्दैनन्, गरेका छैनन् । विदेशीले ओलीलाई हेर्ने दृष्टिकोण किन फरक छ भने उनी तिनलाई खुशी पार्ने कूटनीति गर्दैनन्, जे सत्य हो, त्यही बोल्छन् । ओलीको नेतृत्वमा एमाले ०८४ को निर्वाचनमा जान्छ, त्यसका आधार भनेका उनको नेतृत्व भएका कामहरु हुन् ।

जव ओली भएकामा उत्कृष्ट छन् भने विकल्प खोज्नुपर्दैन । र, विकल्प ओलीले उपयुक्त समयमा आफै दिन्छननै । त्यसका लागि पार्टीभित्र शंकर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, पीएस गुरुङ, योगेश भट्टराइ लगायतका नेताहरु छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ३२ बजे