प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने क्यानडाको तयारी



क्यानडाले पनि प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने भएको छ । फ्रान्स र बेलायतपछि प्यालेस्टाईनलाई छुट्टै राज्यको मान्यता दिने घोषणा गर्ने क्यानडा तेश्रो जि–७ राष्ट्र बनेको हो । क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बर महिनामा क्यानडाले प्यालेस्टाइनी राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन् ।

कार्नीले भनेका छन्, ‘यो कदम लोकतान्त्रिक सुधारहरूमा निर्भर गर्नेछ, जसमा प्यालेस्टाइनले हमासको सहभागिता बिना अर्को वर्ष चुनाव गराउनु पर्नेछ ।’

यदि इजरायलले युद्धविराम र अन्य सर्तहरूमा सहमति नगरे सेप्टेम्बरमा उनीहरूले पनि प्यालेस्टाइनी राज्यलाई मान्यता दिने जनाएका छन् । बेलायतले हिजो र फ्रान्सले पनि एक हप्ता अघि यस्तै योजना सार्वजनिक गरिसकेको छ ।

इजरायली विदेश मन्त्रालयले क्यानडाको घोषणाको विरोध गर्दै यसलाई हमासका लागि उपहारको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १४७ राष्ट्रहरूले प्यालेस्टाइनी राज्यलाई औपचारिक रूपमा मान्यता दिइसकेका छन् ।

क्यानडाले आगामी संयुक्त राष्ट्रसंघ महासभामा प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिइने कार्नीले बताए ।

विवादास्पद गाजापट्टीमा इजरेलले बस्ती बसाउनु, गाजामा बढ्दो मानवीय संकट र ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि गरिएका आक्रमणहरूका कारण आफ्नो परराष्ट्र नीतिमा ठूलो परिवर्तन आएको कार्नीले बताए ।

उनले भने, ‘प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने निर्णय प्यालेस्टाइन प्राधिकरणद्वारा शासन सुधार गर्ने र उक्त क्षेत्रमा हतियार नहुने ग्यारेन्टीसॅग सशर्त हुनेछ ।’

क्यानडाले लामो समयदेखि दुई–राज्यबीचको समस्या वार्तामार्फत समाधान होस् भन्ने चाहेपनि अब त्यो व्यवहापरिक नरहेको उनको भनाई छ ।

७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमाथि हमासद्वारा भएको आक्रमणमा झण्डै १,२०० जनाको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए।

त्यसपछि इजरायली सेनाले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । त्यसयता गाजामा ६०,००० भन्दा बढी मानिस मारिएका छन् । गाजाकै हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयअनुसार ८९ बालबालिकासहित १५४ जनाको कुपोषणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १ : ०३ बजे