प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम मुलुक घोषणा नभएसम्म हतियार त्याग्न हमासले अस्वीकार गरेको छ । प्यालेस्टाइनी सशस्त्र समुह हमासले इजरायलसागको युद्धविराम वार्तामा इजरायलको प्रमुख मागहरूमध्ये एकप्रति प्रतिक्रिया दिदै, सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछाड्ने आˆनो अडान पुनः दोहोर्याएको हो ।
अमेरिका, बेलायत र युरोपेली युनियनमा प्रतिबन्धित आतंकवादी समूहका रूपमा सूचीकृत हमासले वक्तव्यमा भनेको, “युद्ध प्रतिरोध गर्ने अधिकार र हतियार त्याग्ने कुरा तब मात्र सम्भव हुन्छ जब पूर्ण स्वतन्त्र र सार्वभौम प्यालेस्टिनी राज्य स्थापना हुन्छ, जसको राजधानी जेरुशलम हुनेछ ।”
हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विट्कफले दिएको टिप्पणीप्रति प्रतिक्रिया जनाएको हो । जसमा उनले हमासले “हतियार त्याग्न इच्छुक” भएको बताएका थिए ।
इजरायलले हमासको निशस्त्रीकरणलाई संघर्ष अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि प्रमुख सर्तहरू मध्ये एक मानेको छ ।
युद्धविराम र बन्धकको रिहाइ गर्ने मुख्य उद्देश्यसहित हमास र इजरायलबीच भएको अप्रत्यक्ष वार्ता गत साता अवरुद्ध भएको थियो ।
पछिल्लो केही दिनमा फ्रान्स र क्यानाडा लगायतका केही पश्चिमी मुलुकहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना सार्वजनिक गरेपछि, अरब मुलुकहरूले हमासलाई हतियार त्याग्न र गाजाको नियन्त्रण हस्तान्तरण गर्न आग्रह गरेका छन् । बेलायतले पनि इजरायलले केही सर्तहरू पूरा नगरेमा सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएको छ ।



प्रतिक्रिया