भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै नेपालका रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) को बान्टमवेट च्याम्पियन बनेका छन्। शनिबार राति भारतमा सम्पन्न प्रतियोगितामा उनले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन्। उनी एमएफएनको उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।
मिक्स मार्सल आर्ट्स (एमएमए) मा आक्रामक फाइटिङ शैली र रेस्लिङ क्षमताका लागि परिचित ढाँटले तेस्रो राउन्डमै कोरेनलाई पराजित गरे। ढाँटको निरन्तर प्रहारपछि संकटमा परेका कोरेनलाई रेफ्रीले फाइट रोक्दै टेक्निकल नक्कआउट (TKO) मार्फत रविन्द्रलाई विजेता घोषित गरेका थिए।
यस शानदार जितसँगै ढाँटको प्रोफेसनल फाइटिङ रेकर्ड अब ८–१ मा पुगेको छ। लगातार पाँच पटक जित्दै आएका भारतीय फाइटर कोरेनको विजयी यात्रा यहीं आएर रोकिन पुग्यो। ‘दि इन्डियन राइनो’ उपनामले चिनिएका कोरेनले सुरुवातदेखि नै दबाब सिर्जना गर्न खोजे पनि ढाँटको धैर्य, संयमता र रणनीतिपूर्ण फाइटिङका सामु टिक्न सकेनन्।
रविन्द्रको जितसँगै रंगशालामा नेपाली समर्थकहरूको उत्साह चरममा पुगेको थियो। फाइटपछि पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको दृश्यले सम्पूर्ण नेपाली दर्शकलाई भावुक बनाएको थियो।
बझाङको बित्थडचिर गाउँपालिकाका ढाँटको यस ऐतिहासिक सफलतामा देशभरबाट बधाई सन्देश आउन थालेका छन्। सामाजिक सञ्जालमा उनका समर्थकहरूले खुसी साटासाट गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन्। गायिका रचना रिमालसहित विभिन्न क्षेत्रका सेलिब्रिटीहरूले ढाँटको खेल कौशलको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका छन्।



प्रतिक्रिया