काठमाडौं – नेपाली हाँस्यव्यंग्य परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ हाँस्य–व्यंग्यात्मक कार्यक्रम ‘८२ सालको गाईजात्रा’ यही साउन २३ गते शुक्रबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक ब्राण्डवर्थ प्रा.लि. ले जनाएको छ ।
गाईजात्रामा दिग्गज कलाकारहरू र नयाँ पुस्ताका प्रतिभावान कलाकारहरूको समिश्रण रहने आयोजकले उल्लेख गरेको छ ।
४ दिनसम्म चल्ने कार्यक्रममा समाजका विविध पाटोमाथि प्रहार गर्ने माध्यमका रूपमा कविता र कविता वाचन शैलीलाई पनि समावेश गरिएको छ । यसै सन्दर्भमा, आफ्नो विशेष प्रस्तुतिका साथ कविता वाचनमा ख्याती प्राप्त कवि नवराज पराजुली पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यस्तै, लोकप्रिय युवा लोकगायक पशुपति शर्माको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हुने छ । हाँस्य, व्यंग्य र संगीतको संगमले कार्यक्रमलाई थप रौनक दिने अपेक्षा गरिएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै चर्चित कलाकार मनोज गजुरेलले गाईजात्रालाई केवल मनोरञ्जन नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सांस्कृतिक प्रेरणाको पर्व हो, जसले समाजका विसङ्गतिहरूमा प्रहार गर्दै जनचेतना फैलाउँछ ।’
ब्राण्डवर्थ प्रा.लि.का प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेल ले कार्यक्रम मनोरञ्जनात्मक मात्र नभई सामाजिक, राजनीतिक र सांस्कृतिक विकृति–विसङ्गतिप्रति व्यंग्यात्मक खबरदारी दिने माध्यम हुने बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ हाँस्य व्यंग्य कलाकार मनोज गजुरेल, कवि पराजुली, गायक शर्मा सहित बरिष्ठ कलाकार शैलेन्द्र सिंखडा, चक्र दवाडी, सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रताप लामा, सीता न्यौपाने, प्रकृति गिरी, आशीष खनाल, कल्पना खतिवडा, श्रेया सुवेदी, सन्देश सुवेदी, र यमी गौतमले पनि प्रस्तुती दिने छन् ।



प्रतिक्रिया