भारतको प्रगतिबाट नेपालले लाभ लिन चाहेको छ : राष्ट्रपति



राष्ट्रपति रामचन्द्र पौडेलले भारतले गरेको प्रगतिहरूबाट नेपाल लाभान्वित हुन चाहेको बताउनुभएको छ । मित्र राष्ट्र भएको नाताले भारतबाट नेपालले लाभ लिएको र अझै बढी लाभान्वित हुन खोजेको बताउनुभएको हो ।

भारतका विदेशसचिव विक्र मिश्रीले राष्ट्रपति भवल शितल निवासमा गरेको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले हासिल गरेको सामाजिक, आर्थिक र प्राविधिक प्रगतिप्रति खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभएको छ, ‘नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको छ ।’ नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्रथामिकतामा राखेको भन्दै राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

भेटका अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको थियो ।

विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ४ : १६ बजे