प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै हुनुहुन्छ । संघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली आगामी शनिबार चीन जान लाग्नुभएको हो । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुहुने भएको छ । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्दै हुनुहुन्छ ।
भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने गत साता सहमति गरेको पृष्ठभूमिमा हुन लागेको प्रधान्त्री ओलीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । भारत र चीनले गरेको सहमतिप्रति नेपालले औपचारिक रूपमा विरोध जनाइसकेको छ । यसकारण पनि सम्मेलनको साइडलाइनमा हुने उच्चस्तरीय भेटलाई नेपाली पक्षले कसरी उपयोग गर्छ भन्ने चासो सबैतिर छ ।
एससीओ बैठक १५–१६ भदौमा चीनको तियानजिन सहरमा हुँदै छ । नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो । नेपाल एससीओको सदस्य राष्ट्र भने होइन । ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीलाई भेट्ने उल्लेख छ । सम्मेलनका अवसरमा सहभागी अन्य देशका नेताहरूसँग पनि प्रधानमन्त्री ओलीको ‘साइडलाइन’ भेट हुनेछ ।
प्रधानमन्त्री ओलीले १७ भदौमा चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेट गर्नुहुनेछ । मन्त्रालयका अनुसार सोही दिन बेइजिङमा आयोजना गरिने जाफानी आक्रमणविरुद्ध चीनको विजयको ८० औं वार्षिकोत्सव कार्यत्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ । गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हो ।



प्रतिक्रिया