अछाममा माथिबाट खसेको ढुङ्गाले लागेर एक बालिका सहित २ जनाको मृत्यु भएको छ । छाउपडी बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको हो ।
पञ्चदेवल विनायक नगरपालिका–८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा गएराती ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । एक जना घाइते भएकी छन् । मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको डीएसपी खनालले बताउनुभयो ।
भण्डारीले आफु महिनावारी भएको बेला छोरीलाई पनि साथै लगेर त्रिपालमुनी बसेकी थिइन् । गाउँमा छाउगोठ नै नभएपनि त्रिपाल टाँगेर छाउपडी बार्ने गरेका कारण दुर्घटना भएको पाईएको भन्दै डीएसपी खनालले त्यसविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताउनुभयो । गाउँमा छाउगोठ छैन । तर त्रिपाल टाँगेर बस्ने रहेछन् ।
अछाममा छाउगोठ भत्काइए महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि र ओडारमा बस्न थालेका छन् । २०६३ यता अछाममा मात्रै छाउगोठ र त्रिपाल टाँगेर बसेका बेला १९ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ ।



प्रतिक्रिया