‘चीन र भारतबीच आपसी विश्वास गहिरो बन्दै गएको छ’



लामो समयदेखि सीमा विवाद खेपिरहेका चीन र भारतले आपसी विश्वास गहिरो बन्दै गएको बताएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तियानजिन बन्दरगाह शहरमा आयोजित शाङ्घाई सहयोग संगठनको बैठकको अवसरमा भेटघाट गरेका हुन् ।

सात वर्षपछि पहिलो पटक चीन पुगेका भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सीले आपसी विश्वास बलियो बन्दै गएको बताएका हुन् । सीले मोदीलाई चीन र भारत प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताए भने मोदीले अब शान्ति र स्थायित्वको वातावरण बनेको बताए ।

राष्ट्रपति भ्लादिमिर पुटिन पनि २० भन्दा बढी विश्व नेताहरू सहभागी भएको सम्मेलनमा छन्, तर यस वर्षको बैठक अमेरिकासँगको व्यापार युद्धका कारण ओझेलमा परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीले रूसबाट तेल खरिद जारी राखेको कारण भारतका सामानमाथि उच्च शुल्क लगाएका छन् । उता, पुटिन भने युक्रेनमा जारी युद्धका कारण थप प्रतिबन्धको खतरा खेपिरहेका छन् ।

अमेरिका–भारत सम्बन्धमा बढ्दो असहज परिस्थितिका बीच मोदी सीसँग नजिकिन थालेका छन् । दुबै मुलुकहरू न केवल विश्वकै सबैभन्दा जनसंख्या भएका, तर सबैभन्दा ठूलो अर्थतन्त्रहरूमध्ये पनि पर्छन् ।

मोदीले २०२० मा हिमालय क्षेत्रमा भएको घातक भिडन्तपछि रोकिएका भारत–चीन बीचका उडानहरू पुनः सुरु हुने घोषणा गरे, यद्यपि उनले कुनै समयसीमा दिएनन् ।

सीले भने, ‘दुवै पक्षले हाम्रो सम्बन्धलाई रणनीतिक दृष्टिकोण र दीर्घकालीन परिप्रेक्ष्यबाट हेर्न र व्यवस्थापन गर्न आवश्यक छ, मित्र बन्नु दुवै पक्षका लागि सही निर्णय हो ।’

एससिओ सम्मेलन मुख्यतः प्रतीकात्मक भए पनि यसले नेताहरूलाई साझा चासो र असन्तुष्टि व्यक्त गर्ने अवसर दिन्छ । यो बैठक दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको अवसरमा बेइजिङमा हुने विशाल सैन्य परेड भन्दा केही दिनअघि भइरहेको हो ।

यस समूहमा १० सदस्य राष्ट्र छन्, जसमा रूस, पाकिस्तान र इरान पनि छन् । साथै १६ संवाद साझेदार र पर्यवेक्षकहरू छन् ।
चीनका घनिष्ठ सहयोगी पुटिन आइतबार तियानजिनमा रातो कार्पेट स्वागतसहित पुगेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३४ बजे