सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन हुँदै



आसन्न चाडपर्व लक्षित सहुलियत मूल्य पसल यही भदौ ३० गतेदेखि सञ्चालनमा आउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यस्ता पसल सञ्चालन गर्ने तयारी गरेको हो।

मन्त्रालयका अनुसार उपभोक्तालाई चाडपर्व अवधिभर आवश्यक खाद्य तथा उपभोग्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन गर्न लागिएको हो। आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलले आवश्यक परिपत्रसमेत भइसकेको जानकारी दिनुभयो ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने पसलमार्फत चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ। चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो सात रुपैयाँ छुट हुनेछ भने खाने तेलमा प्रतिलिटर सात रुपैयाँ छुट पाइनेछ। कर्णालीका स्थानीय उत्पादन जस्तै जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ। साथै, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङ्ग्रामा पनि प्रतिकिलो १० रुपैयाँ छुट उपलब्ध हुनेछ। यसरी कम्पनीले ४६ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ, जसमा तीनवटा घुम्ती पसल पनि रहनेछन्। उपत्यकाबाहेकका जिल्लामा पनि पसल सञ्चालन गरिनेछ। साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, तेलमा प्रतिलिटर सात रुपैयाँ र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ।

सरकारले यस्ता पसलमार्फत बजार मूल्य नियन्त्रण, गुणस्तरीयता कायम राख्ने र उपभोक्तालाई सरल तथा सुलभ सेवा दिने लक्ष्य राखेको छ। चाडपर्वको समयमा निजी क्षेत्रको एकाधिकार रोक्न सरकारले हरेक वर्ष यस्ता सहुलियत पसल सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : ११ बजे