अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। इन्धनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा ब्रेण्ट क्रुड ओएलको मूल्य झण्डै ७ प्रतिशतले बढ्दै प्रति ब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२२ पछि कै उच्च स्तर हो।
विशेषज्ञहरूका अनुसार शान्ति वार्ता अवरुद्ध हुनु, तथा स्ट्रेट अफ हर्मुज मार्ग प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा रहनुले विश्व बजारमा ऊर्जा आपूर्तिमा अनिश्चितता बढाएको छ। यसले आगामी दिनमा इन्धनको मूल्य अझै बढ्न सक्ने संकेत दिएको छ।
समाचार अनुसार, अमेरिकी सेनाले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका नयाँ योजनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने तयारी गरिरहेको छ। अमेरिकाको केन्द्रीय कमाण्डले तयार पारेको योजनामा इरानमाथि “छोटो तर शक्तिशाली” हवाई आक्रमण गर्ने प्रस्ताव समावेश रहेको बताइएको छ।
समाचार संस्था एक्सियोसको रिपोर्टअनुसार, यी आक्रमणहरू इरानसँग जारी वार्तामा आएको गतिरोध तोड्ने उद्देश्यले गरिन सक्ने जनाइएको छ। साथै, अर्को योजनामा रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुजको केही भाग नियन्त्रणमा लिएर व्यापारिक जहाज आवागमन पुनः सञ्चालन गर्ने विकल्पसमेत समावेश रहेको उल्लेख गरिएको छ।





प्रतिक्रिया