प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलगत्तै सुस्तामा भारतीय अवरोध: निर्माणाधीन तटबन्धको काम रोकियो



प्रधानमन्त्री बालेन शाहले संसद्‌मा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको विवादित अभिव्यक्तिलगत्तै पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमै निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्‍याएको छ । नारायणी नदीको कटान र डुबानबाट सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लागतमा सो तटबन्ध निर्माण भइरहेको थियो । गत फागुनदेखि सुरु भएको १ किलोमिटर क्षेत्रको तटबन्धको ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा हतियारसहित आएका भारतीय एसएसबीका सुरक्षाकर्मीले दबाब दिएपछि हाललाई काम स्थगित गरिएको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय र वडा अध्यक्ष आदम हुसेनका अनुसार तटबन्ध निर्माण भइरहेको क्षेत्र दशगजा (नो म्यान्स ल्यान्ड) मा नपर्ने र त्यो पूर्ण रूपमा नेपालीहरूको बसोबास तथा खेतीपाती रहेको नेपाली भूमि नै हो । भारतीय पक्षले सो क्षेत्रलाई विवादित दाबी गर्दै थप १३२ मिटर क्षेत्रको नयाँ तटबन्ध अगाडि नबढाउन र भारतसँग समन्वय गरेर मात्र काम गर्न भनेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार भारतले दाबी गरेको क्षेत्रभन्दा ३० मिटर नेपालतर्फ भइरहेको काममा समेत एसएसबीले अवरोध गरेको छ ।

प्रधानमन्त्री बालेन शाहको गैरजिम्मेवार र विवादास्पद भनाइका कारण भारतीय पक्षको मनोबल बढेको र त्यसैको आडमा नेपालको अत्यावश्यक विकास निर्माणमा बाधा पुग्न थालेको स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको आरोप छ । सन् १८१६ को सुगौली सन्धि यता नारायणी नदीले धार परिवर्तन गर्दा सुस्ताको साढे १४ हजार हेक्टरभन्दा बढी जमिन भारतीय पक्षबाट अतिक्रमण भइसकेको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले सुस्तावासीको घाउ फेरि बल्झाएको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ५ : ३४ बजे