यो स्थिति ठ्याक्कै त्यस्तै छ, जस्तो तपाईं कुनै भोजमा पुग्नुहुन्छ र त्यहाँका घरधनीहरू (श्रीमान्-श्रीमती) बीच भर्खरै ठूलो झगडा परिरहेको हुन्छ । उत्तर अमेरिका महादेशको इतिहासमै पहिलो पटक संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपका लागि त्यहाँ पुग्ने फुटबल प्रशंसकहरूले तीन आयोजक राष्ट्रहरूबीच निकै तनावपूर्ण सम्बन्ध भइरहेको पाउनेछन् ।
कुल १६ वटा आयोजक शहर र तीन देशहरूमा फैलने यो बृहत् प्रतियोगिता, अमेरिका, क्यानडा र मेक्सिकोबीचको चिसो सम्बन्धको पृष्ठभूमिमा हुँदैछ । गत डिसेम्बरमा वासिङ्टन डीसीमा भएको ड्र (खेल तालिका निर्धारण) का क्रममा यी तीनै देशका नेताहरू फिफा अध्यक्ष जियानी इन्फान्टिनोसाग ‘सेल्फी’ खिच्न मुस्कुराउँदा यी भित्री समस्याहरू हटेको जस्तो देखिएका थिए । तर, पूरे ३९ दिने लामो प्रतियोगिता सँगै मिलेर चलाउनु बिल्कुलै फरक कुरा हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका नै यस महादेशको सबैभन्दा शक्तिशाली देश हो भन्ने कुरामा कुनै संकोच नराखी स्पष्ट पार्दै आएका छन् । यसको अर्थ, ट्रम्प पुनः सत्तामा फर्किएपछि व्यापार, आप्रवासन (Immigration), र लागुऔषध ओसारपसार जस्ता विषयमा तीन राष्ट्रबीच गुम्सिएर रहेका वास्तविक तनावहरू खेलको दौरान फेरि सतहमा आउन सक्छन् । अर्कोतर्फ, यदि सबै कुरा सही ढंगले अघि बढेमा यस विश्वकपले यी तीन देशबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउन पनि सक्छ ।
व्यापार, पर्यटन र ट्रम्पको तनाव
अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार मेक्सिको र क्यानडाले आफूहरूलाई नै ट्रम्पले सबैभन्दा पहिले करको निशाना बनाएको कुरा बिर्सेका छैनन् ।
क्यानडालाई अमेरिकाको “५१ औं राज्य” बनाउने भन्ने ट्रम्पको बारम्बारको टिप्पणीले आक्रोशित बनेको क्यानडाले पनि आफ्नै तर्फबाट जवाफी कदम चालेको थियो । क्यानडाका प्रान्तहरूले आफ्ना पसलहरूबाट अमेरिकी मदिरा हटाए र क्यानेडियनहरूले अमेरिकातर्फको यात्रामा भारी कटौती गरे, जसले अमेरिकालाई पनि चिढ्यायो ।
युनिभर्सिटी अफ क्यालगरीका अन्तर्राष्ट्रिय नीति निर्देशक कार्लो डेडका अनुसार, अमेरिकासँग क्यानडा र मेक्सिको दुवैको जुन समस्या छ, त्यसले उनीहरू (क्यानडा र मेक्सिको) बीचको आपसी सम्बन्धमा पनि असर पारेको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुअघि क्यानडाले मेक्सिकोलाई धोका दिएको आरोप लागेको थियो किनभने क्यानेडियन र अमेरिकी अधिकारीहरूले मेक्सिकोले चिनियाँ लगानीका लागि उत्तर अमेरिकामा ‘चोर बाटो’ को काम गरिरहेको तर्क अघि सारेका थिए। डेड भन्छन्, “यो सरासर अपमानजनक थियो ।”
यसको अर्थ, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाहेक अन्य देशसाग व्यापार विविधीकरण गर्ने प्रयास गरिरहँदा मेक्सिकोसँगको सम्बन्ध सुधार्न पनि कसरत गर्नुपरिरहेको छ ।
तीन देशको व्यवस्थापन: एक चुनौती
विश्वकपको इतिहासमा यसअघि कहिल्यै पनि तीनवटा देश मिलेर आयोजना गरेका थिएनन् । र, यो २०२६ को प्रतियोगिता पूरा महादेशभरि फैलिने भएकाले यसमा धेरै फरक-फरक निकाय र अधिकारीहरू संलग्न छन् ।
खेलहरू हेर्न प्रशंसकहरू तीनवटै देशमा आउजाउ गर्दा, अमेरिकाको कडा आप्रवासन जाँचका कारण व्यवस्थापकीय झन्झटहरू थपिन सक्छन् र यसले पहिले नै चिसिएको सम्बन्धलाई अझ तनावपूर्ण बनाउन सक्छ । त्यसमाथि, इरान युद्धका कारण बढेको अमेरिकी सुरक्षा चासोले नयाँ झन्झटहरू थप्न सक्छ, जहाँ ससाना सामान्य घटनाले पनि अप्रत्याशित रूपमा उग्र रूप लिन सक्छन् । त्यसैले अमेरिकी अधिकारवादी समूहहरूले विश्वकप घुम्न आउने आगन्तुकहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
ग्लोबल स्पोर्ट्सकी क्लिनिकल असिस्टेन्ट प्रोफेसर लिन्डसे सारा क्रास्नोफ भन्छिन्, “यस्ता विश्वव्यापी खेलकुद कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्दैमा आयोजक देशहरूबीचको सम्बन्ध सधैं सुमधुर नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।” सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको पुरुष विश्वकपको इतिहासलाई हेर्दा, लामो र उतारचढावपूर्ण इतिहास भएका ती दुई देशका लागि त्यो प्रतियोगिता “मिश्रित परिणाम” जस्तो मात्र रह्यो ।
यद्यपि, फिफा आफैंले भने यो मोडेलप्रति ठूलो आशा व्यक्त गर्दै भनेको छ: “यो यस्तो क्षण हो जहाँ तीन देश र एउटा सिङ्गो महादेशले सामूहिक रूपमा भनिरहेका छन्: ‘हामी संसारलाई स्वागत गर्न र इतिहासकै सबैभन्दा ठूलो, उत्कृष्ट र समावेशी फिफा विश्वकप प्रदान गर्न एक जुट छौं ।‘”
समस्याहरू लुकाउने प्रयास?
यी तीनै देशका नेताहरू यस प्रतियोगितालाई आफ्ना छिमेकीहरूसँग राम्रो सम्बन्ध छ भनेर देखाउन मात्र होइन, बरु आन्तरिक मुद्दाहरूमा आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिन पनि प्रयोग गर्न चाहन्छन्।
यो कुरा मेक्सिकोको सन्दर्भमा विशेष रूपमा लागू हुन्छ, जहाँ सह-आयोजक बन्ने विषयमा केही निराशा र अन्योलता थियो । राजधानीको मुख्य विमानस्थलको अवस्था, अस्तव्यस्त सार्वजनिक यातायात प्रणाली र पुनर्निर्माण भइरहेको एस्टेका स्टेडियमको तयारीलाई लिएर निरन्तर प्रश्नहरू उठिरहेका छन् । केही महिनाअघि सडकमा कार्टेल (अपराधिक समूह) का सदस्यहरू हतियारसहित उत्रिँदा केही समयका लागि देशैभरि हिंसात्मक वातावरण सृजना भएको थियो ।
अझ अहिले, त्यहाँको मुख्य शिक्षक युनियनले पेन्सन र सेवा सुविधाहरूको माग गर्दै देशव्यापी हडताल र विशाल प्रदर्शन गरिरहेको छ, जसले खेल हुने मुख्य सडकहरू नै ठप्प पार्ने धम्की दिएको छ । उनीहरूको नारा छ, “हाम्रो मागको समाधान नभएसम्म, खेलको किक-अफ (सुरुवात) हुन दिने छैनौं ।”
तर यी सबै चुनौतीहरूका बावजुद, मेक्सिकन राष्ट्रपति क्लाउडिया शिनबाउम लगातार सकारात्मक देखिएकी छन् । गत वर्ष उनले भनेकी थिइन्, “यो संसारकै उत्कृष्ट फुटबलको साक्षी बन्ने र हामी को हौं भनेर संसारलाई देखाउने समय हो — हामी केवल विशाल सांस्कृतिक सम्पदा भएको देश मात्र होइनौं, बरु एक सशक्त जनता भएका देश पनि हौं ।”
तर मेक्सिकन फुटबल पत्रकार राफेल पुएन्टेका अनुसार खेल सुरु हुनुअघि मेक्सिकोले भोगेका यी समस्याहरूलाई लुकाउनु वा ढाकछोप गर्नु गलत हुनेछ । पुएन्टे भन्छन्, “म साँच्चै आशा गर्छु कि प्रशंसकहरूले यी समस्याहरूका सामु धैर्यता र राम्रो व्यवहार देखाउनेछन्, जसलाई हामी लुकाउन सक्दैनौं। हामीले आशा गर्न सक्ने भनेको मेक्सिकन जनताले विगतमा राष्ट्रिय टोलीको खेललाई लिएर देखाएको जस्तै उत्साह र अपेक्षा मात्र हो ।”
प्रतियोगिताभन्दा बाहिरको लक्ष्य
विज्ञहरूका अनुसार, यदि यी तीन छिमेकीहरूले आगामी एक महिना खेलकुदको व्यवस्थापन सही ढंगले गर्न सके भने उनीहरूले अन्य क्षेत्रमा पनि ठूलो उपलब्धि हासिल गर्न सक्छन्।
अहिले यी तीन देश उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको चुनौतीपूर्ण समीक्षाको बीचमा छन् । यो समीक्षाले सन् १९९४ देखि कायम रहेको उनीहरूको व्यापारिक साझेदारीमा अन्योलता पैदा गरिदिएको छ । यसैबीच, मेक्सिकोले अमेरिकासँग औपचारिक वार्ता सुरु गरिसकेको छ, जुन क्यानडाले अझै गर्न बाँकी छ ।
क्यानडाले चीनसँग घनिष्ठ व्यापारिक सम्बन्ध खोजिरहेको छ भने मेक्सिकोले चिनियाँ सामानमा कर बढाएको छ । यसरी ट्रम्प प्रशासनले ‘चीनलाई प्राथमिक चासो’ को रूपमा हेरेको सन्दर्भमा क्यानडा र मेक्सिको फरक-फरक दिशामा अघि बढिरहेका छन् ।
तर विश्वकपले उनीहरूलाई कूटनीतिको ठूलो अवसर दिएको छ — जसरी गत डिसेम्बरमा खेलको तालिका सार्वजनिक हुँदा ट्रम्प, कार्नी र क्लाउडिया शिनबाउम सबै मुस्कुराउँदै सँगै देखिएका थिए । डेड भन्छन्, “जब-जब नेताहरू सँगै भेला हुन्छन्, त्यो सामान्यतया राम्रो कुरा हो ।”
आफ्नो तर्फबाट, राष्ट्रपतिले स्पष्ट रूपमा यस विश्वकपलाई विश्वको ध्यान आफूतिर खिच्ने र अमेरिकाको सान देखाउने अवसरको रूपमा हेरेका छन् । तर, खेलको सम्पूर्ण प्रक्रियामा आफू मात्र हाबी हुने ट्रम्पको चाहनाले अमेरिकाका दुई छिमेकीहरूमा असन्तोष पैदा गर्न सक्छ र अन्ततः दीर्घकालीन रूपमा उत्तर अमेरिकी सम्बन्धमा क्षति पुऱ्याउन सक्छ ।





प्रतिक्रिया