सम्पर्कविहीन कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको आह्वान



सरकारले लामाे समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अज एक विज्ञप्ती जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन निर्देशन दिएको हो ।

निर्धारित समयभित्र अभिलेख अद्यावधिक नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई पनि आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न आग्रह गरेको छ ।

सूचनामा बिदा अवधि समाप्त भएपछि सम्बन्धित कर्मचारी हाजिर भए वा नभएको विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अद्यावधिक गराउन भनिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  १ : ०९ बजे