कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेकाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय आज मध्यरातसम्म मात्रै



नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी र सदस्यहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिले संघीय संसद्का सदस्य, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई जेठ २७ गते मध्यरातसम्म सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको हो ।

समितिका संयोजक महामन्त्री प्रदीप पौडेलका अनुसार तोकिएको समयभित्र सदस्यता अद्यावधिक नगरे उनीहरूले असोजमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

समितिले भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि आज मध्यरातभित्रै क्रियाशील सदस्यता अद्यावधिक गर्न भनेको छ । साथै, पार्टी संरचनामा रहेका सबै तहका नेताहरूलाई आफ्नो क्षेत्रभित्रका सदस्यहरूको अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सुरु गरेको थियो । गत पुससम्म नवीकरण भएका र नयाँ क्रियाशील सदस्यता लिएकाहरूबाट थप विवरण माग गर्दै अद्यावधिक कार्य अघि बढाइएको हो ।

पार्टी संरचनामा नरहेका सामान्य क्रियाशील सदस्यहरूका लागि भने जेठ २८ गते मध्यरातसम्म सदस्यता अद्यावधिक गर्ने समय दिइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १ : २७ बजे