काभ्रेमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु



बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ । ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर झाक्री, दैलेखका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङकाे मृत्यु भएकाे हाे ।

अन्य चार जनाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा १६ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हाे । प्रारम्भिक अनुसन्धानअनुसार अर्को बसलाई साइड दिने क्रममा बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ७ : २८ बजे