ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आएको सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिमलाई नियन्त्रण गर्न र आगन्तुकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण सेवा तथा गतिविधि स्थगित गरिएको जनाएको छ ।
चिडियाखानाका अनुसार बर्डफ्लु संक्रमण थप फैलिन नदिन आवश्यक जैविक सुरक्षा (बायोसेक्युरिटी) उपायहरू अपनाइँदै छन्। संक्रमण नियन्त्रणमा आएपछि मात्रै चिडियाखाना पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।
यसअघि गत चैत महिनामा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ । संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायहरूले निगरानी, परीक्षण तथा रोकथामका उपायहरूलाई तीव्र बनाएका छन् ।




प्रतिक्रिया